तपाईँ सुन्दै हुनुहुन्छः

भेरी–बबई आयोजना : तेस्रो चरणको काम तीव्र

सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरण अन्तर्गतको काम तीव्र पारिएको छ । 

राष्ट्रिय गौरवको आयोजनाले हाइड्रो मेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९ सय १६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । 

तेस्रो चरणमा हाइड्रो मेकानिकल इन्जिनियरिङको काम सुरु गर्न ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएसँगै कामले तीव्रता लिएको आयोजना प्रमुख हरिनारायण यादवले बताउनुभयो । 

उहाँले इलेक्ट्रोमेकानिकल (ईएम)तर्फ आवश्यक कार्य स्वीकृत गराएर छिट्टै टेण्डर प्रक्रियामा जाने तयारी रहेको जानकारी दिनुभयो । अहिले सिभिलअन्तर्गत हेडवर्क्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम भइरहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार लामो समय वर्षाका कारण बाँध स्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट अहिले बाहिर निकाल्ने काम भइरहेको छ । 

“पानी डाइभर्ट गरेर मुख्य बाँध स्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम सुरु भइरहेको छ,” उहाँले भन्नुभयो, “कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी काम गरिरहेका छौँ ।” 

आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागत मध्ये हालसम्म १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ३८.३१ तथा भौतिक प्रगति ४९.५ प्रतिशत हासिल भएको छ । 

सरकारले आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट ३ खर्ब ४ करोड ६ लाख रुपैयाँमध्ये १० करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । 

कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९÷ २०८० मा सक्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८ सय मिटर डाइभर्सन गरिएको छ । 

मुआब्जा विवाद सुल्झियोआयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद समेत टुंगिएको छ । 

अघिल्लो महिना बसेको सङ्घीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताउनुभयो । 

उहाँले छिट्टै बाँकी रहेका आयोजना प्रभावित क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति वितरण गरिने तयारी भएको जानकारी दिनुभयो । 

यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजना स्थलका बासिन्दा आन्दोलित थिए । 

जिल्लाको भेरीगंगा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको छ । उक्त ब्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । 

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button