तल्लो मोदीको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडियो

पर्वत । पर्वतको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो ।
पर्वतको कुश्मा नगरपालिका ८ मा पावर हाउस र मोदी गाउँपालिका–२ मा ड्याम रहेको यो आयोजनाले उत्पादित विद्युत् हालै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
३ अर्ब ६० करोड रुपैयाँ लागत इस्टिमेट अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो । तर, भूकम्प नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवाद लगायतका झन्झटले निर्धारित समयभन्दा करिब ४ वर्ष ५ महिना ढिला उत्पादन थालेको हो ।
आयोजनाको विद्युत् करिब ५ सय मिटर टाढाको प्रसारण लाइनमा जोडिएको छ । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन ।
आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो ।
२०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ ।
टनेल, पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो ।
२०७२ को भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।
आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सब स्टेसनमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्