सुर्खेतमा ६ सय ५१ जना एचआइभी संक्रमित

सुर्खेत । सुर्खेतमा ६ सय ५१ जना एचआइभी संक्रमित रहेका छन् ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले चालु आर्थिक वर्षको पहिलो चौमासिक रिपोर्टमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा ४१ जना नयाँ एचआइभी संक्रमित पत्ता लागेको जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४१ जना नयाँ एचआइभी संक्रमित भेटिएका हुन् ।
नयाँ पत्ता लागेका एचआइभी संक्रमित मध्ये रुकुमपश्चिम र सुर्खेतका एक–एक जना गरी दुई जना गर्भवती महिला रहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एचआइभी परीक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार हाल नयाँ पत्ता लागेका सबै एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन् । योसँगै कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमितको सङ्ख्या ६ सय ५१ पुगेको हो ।
प्रदेशभरका सबै एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकका लागि एचआइभी संक्रमण र जनसङ्ख्या वृद्धि ठूलो चुनौतीको रुपमा रहेकाले जनसङ्ख्या वृद्धिदरलाई कम गर्नुका साथै एचआइभी तथा यौन रोग सङ्क्रमणलाई कम गर्न कण्डमको सहज र सुलभ उपलब्धता हुन जरुरी रहेको बताइएको छ । नेपाल सरकारले कण्डम निःशुल्क वितरण गर्ने गर्दछ । नेपालमा कण्डमलगायत परिवार नियोजनको अस्थायी साधनको प्रयोग ४३ प्रतिशत रहेको छ ।
प्रजनन उमेरका २३.७ प्रतिशतभन्दा बढी महिलाको परिवार नियोजनको माग अपुग रहेको छ ।
एचआइभी रोकथामका लागि सबै जिल्लाबाट सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले ‘पीएमटीसिटी तथा सीबीपीएमटीसिटी’ सेवा दिँदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्