तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

काठमाडौँ ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ । सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गर्नुभएको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो । काँग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

शुक्रवार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो । आइतबार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना सुरु हुने समितिले जनाएको छ । काँग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्रीको मत परिणाम सार्वजनिक भइसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । काँग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button