तपाईँ सुन्दै हुनुहुन्छः

धनुषालाई बालविवाह मुक्त बनाउने अभियान जारी

जनकपुरधाम । बाल विवाहका कारणले हुने हिंसा नियन्त्रणका लागि धनुषा जिल्लाको विभिन्न पालिकाहरूमा अहिले बाल विवाह विरुद्धको जनचेतना मूलक अभियान तीव्र रुपमा भइरहेको छ । 

लाइफ नेपाले विभिन्न पालिकाहरूसँग सहकार्य गरेर अभियानलाई तीव्रता दिएको छ । आज धनुषा जिल्लाको विभिन्न पालिकाहरूमा बालविवाहका विरुद्धमा जनचेतनामूलक सडक नाटकका साथै र्‍याली प्रदर्शन गरिएको छ । 

बालविवाहका कारणले हुने गरेको आर्थिक, सामाजिक तथा शारीरिक समस्याहरूको विषयमा सर्वसाधारणलाई सचेत गराउनका लागि धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा जनचेतना मूलक र्‍याली प्रदर्शन गरिएको छ । 

विभिन्न विद्यालयका बालबालिका, शिक्षक, शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागितामा भएको जनचेतनामूलक र्‍यालीमा सहभागीहरूले बालविवाहका विरुद्धमा नाराबाजी पनि गरेका थिए । 

व्याण्डबाजा सहित निष्केको जनचेतनामूलक र्‍यालीमा सहभागीहरूले विभिन्न प्रकारका सन्देश लेखिएको प्लेकार्ड ब्यानरसहित गाउँको परिक्रमा गरेका थिए । गाउँपालिका उपाध्यक्ष एवं बालबालिका संरक्षण समितिका अध्यक्ष इन्द्रकला यादवको नेतृत्वमा र्‍याली निष्केको थियो । 

यसैगरि मिथिलाका प्रसिद्ध लोक कलाकार वि एन पटेल तथा रिना यादवको नेतृत्वका टोलीले आज मात्र धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका, जनकपुरधामको मुसहरी टोलको चाँदनी चौक, मिथिला विहारी नगरपालिकाको तारापट्टी र क्षिरेश्वर नगरपालिकाको महेन्द्रनगरमा चेतनामूलक सडक नाटक मञ्चन गरिएको छ । 

यसका साथै लाइफ नेपालले विभिन्न पालिकाहरूमा होडिङ्ग बोर्ड लगाउने तथा पर्चा पम्पलेट टाँस्ने काम पनि भइरहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button