काँग्रेसको १४ औँ महाधिवेशन: सह महामन्त्री पदको मतगणना सम्पन्न
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सह महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।
आज सम्पन्न मतगणना अनुसार पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसी क्लस्टरबाट महेन्द्र यादव विजयी हुनुभएको छ ।
यस्तै मुस्लिमबाट फरमुल्लाह मन्सुर, थारु क्लस्टरबाट उमाकान्त चौधरी र खस आर्य क्लस्टरबाट किशोरसिंह राठौर विजयी हुनुभएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

पिछडिएको क्षेत्रबाट निर्वाचित बद्री पाण्डेले २ हजार ४ सय ११ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार जीवनबहादुर शाहीले २ हजार १ सय ३३ र चेतराज बजालले ९९ मत प्राप्त गर्नुभयो ।
थारु क्लस्टरबाट निर्वाचित उमाकान्त चौधरीले २ हजार ७ सय ६२ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार तेजुलाल चौधरीले १ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो ।
यस्तै मुस्लिम क्लस्टरबाट निर्वाचित फरमुल्लाह मन्सुरले २ हजार ७ सय ७६ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार शेख वकिलले १ हजार ८ सय ७१ मत प्राप्त गर्नुभयो ।
खस आर्य क्लस्टरबाट किशोरसिंह राठौरले २ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी हुँदा अर्का उम्मेदवार देवराज चालिसेले २ हजार ५९ मत प्राप्त गर्नुभएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
यसअघि हिजो सम्पन्न मतगणनामा महिला क्लस्टरबाट महालक्ष्मी उपाध्याय ‘डिना’, दलित क्लस्टरबाट जीवन परियार र आदिवासी जनजाति क्लस्टरबाट भीष्मराज आङदम्बे विजयी हुनुभएको थियो ।
नेपाली काँग्रेसको संशोधित विधान अनुसार विभिन्न क्लस्टरबाट ८ जना सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।
सह महामन्त्री पदको मतगणना सकिएसँगै नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूको टुङ्गो लागेको छ ।
काँग्रेसको १४ औँ अधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित हुनुभएको छ ।
सह–महामन्त्री पदको मतगणना सकिएपछि आजैदेखि केन्द्रीय सदस्यहरूको मतगणना समेत सुरु भएको छ ।
पहिलो चरणमा प्रदेश नं. २ बाट केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको र पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्