मुलुकको हितमा हुने कुनै पनि सहयोग स्वीकार्य: अध्यक्ष नेपाल
नेपालगन्ज । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितमा हुने कुनै पनि सहयोग स्वीकार्य हुने बताउनुभएको छ ।
अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको हितमा नहुने सहयोग भने कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । एमसिसीबारे भइरहेका बहस र चर्चाको प्रसङ्ग निकाल्दै उहाँले विदेशी सहयोग लिँदा देशको हित विपरीत देखिने केही त्यस्ता बुँदा भए तिनको संशोधन आवश्यक हुने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई संस्कारी बनाउने दाबी गर्दै व्यक्तिवादी प्रवृत्तिले पार्टीमा ठाउँ नपाउने बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी क्रान्तिकारी र परिवर्तनकामी पार्टी भएको जिकिर समेत गर्नुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले दबाब र जागरणको अभियान निरन्तर जारी राख्न विद्यार्थीहरूलाई अपिल गर्नुभयो । विद्यार्थी आन्दोलनको औचित्य नसकिएको भन्दै झाँक्रीले जातीय, वर्गीय, लैङ्गिक, शैक्षिक विभेद रहँदासम्म विद्यार्थी आन्दोलनको औचित्य नसकिने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्