तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा भेट्रान्स कप: एविसी र नागस्वती फाइनल प्रवेश

मकवानपुर । हेटौँडामा जारी सातौँ संस्करणको भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौँडा बिच प्रतिस्पर्धा हुने भएको छ । 

४० वर्ष माथि उमेर समूहको भेट्रान्स कपमा शुक्रवार भएको सेमिफाइनल खेलमा एविसीले वानेश्वर भेट्रान्सलाई र नागस्वतीले बगर भाइखलक (ए) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  

शुक्रवार भएको पहिलो सेमिफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । एविसीको तर्फबाट खेलको ९ औँ मिनेटमा महेन्द्र गुरुङले र १६ औँ मिनेटमा सञ्जय गुरुङले एक/एक गोल गर्नु भएको थियो भने  ३५ र ३८ औँ मिनेटमा हरि खड्काले २ गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित हुनुभयो । 

त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौँडाले बगर भाइखलक (ए) लाई २–० गोल अन्तरले पराजित गरेर फाइनल प्रवेश गरेको हो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औँ मिनेटमा नरेन लिम्बुले गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच नरेन लिम्बु घोषित हुनुभयो । 

प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजे नागस्वती भेट्रान्स र एविसी पोखराबिच हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button