तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी माथिको कारबाही पुनर्विचार गर्न मन्त्रीको आग्रह

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार  गर्न आग्रह गर्नुभएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीलाई शुक्रवार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउनुभएको हो ।

मन्त्री गहतराजले खेलाडी र क्यानबिच देखिएको समस्या उपयुक्त विधिबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको खेलकुद मन्त्रीका प्रेस संयोजक सङ्गिन शर्माले जानकारी दिनुभयो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्रमाण पुर्‍याएर खेलाडीमाथि कारबाही गरेको जानकारी दिनुभयो । 

कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार खेलाडीले क्यानले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । 

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् । 

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरूले अपिल गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button