तपाईँ सुन्दै हुनुहुन्छः

महामन्त्री शर्माद्वारा जनआन्दोलनका घाइते कायस्थसँग भेट

काभ्रेपलाञ्चोक । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायस्थसँग भेटघाट गर्नुभएको छ । 

दोस्रो जनआन्दोलन २०६२/०६३ मा गम्भीर घाइते हुनुभएका कायस्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उहाँकै घरमा भेटघाट गर्नुभएको हो । 

‘अर्धचेत’ अवस्थामा रहनुभएका कायस्थलाई भेट गर्दै महामन्त्री शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायस्थ बनेपाको तीन दोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनयता उहाँको होस् अझै खुल्न सकेको छैन । उहाँको बायाँ हातसमेत राम्रोसँग चल्दैन । 

“जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उहाँको परिवारकै सामु शपथ खान्छु”, भेटका क्रममा महामन्त्री शर्माले भन्नुभयो । उहाँहरूकै योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो ।  “व्यवस्था ठिक छ, अवस्था बदल्ने हो”, उहाँले थप्नुभयो, “अवस्था बदल्यौँ भने मुकेश कायस्थ फेरि अरू कसैले बन्नु पर्दैन ।” देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।  

अर्धचेत अवस्थाका ३१ वर्षीय कायस्थ १६ वर्षदेखि शय्यामा सुतिरहनुभएको छ । उहाँ तीन वर्षदेखि दुब्लाउँदै जानुभएको छ भने पहिले जस्तो हाँस्न र बोल्न छाड्नुभएको छ । “पिर माथि पिर थपिएको छ, छोरा ठिक होला भन्ने आशा अझै मरेको छैन”, कायस्थकी आमा मिराले शर्मासँग भेटका क्रममा भन्नुभयो ।  

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको तीन वर्ष भइसक्यो”, उहाँका बाबु कृष्णमानले भन्नुभयो । मुकेश परिवारको एक्लो छोरो हुनुहुन्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्या सागर स्कुलमा कक्षा आठमा पढ्नुहुन्थ्यो । मुकेशको चेत खुल्न सके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायस्थ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । टाउकामा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै आमा मिराले भन्नुभयो । 

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । कृष्णमानले भन्नुभयो, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनः स्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरूको चाहना छ । महामन्त्री शर्माले प्रतिष्ठानका लागि के गर्न सकिन्छ भेटका क्रममा सकेको गर्ने प्रतिबद्धता जनाउनुभयो । 

तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैङ्कको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो ।

 सरकारद्वारा जीवन–निर्वाह भत्ता स्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । 

मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठाले मुकेशका नाममा पुनः स्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।  

दोस्रो जनआन्दोलनमा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । 

आन्दोलनका क्रममा नालाका भिमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामाले जोरपाटीमा ज्यान गुमाउनु भएको थियो । 

उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button