तपाईँ सुन्दै हुनुहुन्छः

आँधी खोलामा माछाका भुरा छाडियो

स्याङ्जा । आँधी खोलामा माछाका भुरा छाडिएको छ । 

आँधी खोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधी खोलामा एक लाख माछाका भुरा छाडेको हो । 

करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुन थालेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधी खोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले बताउनुभयो । 

“नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्त्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्त्व हुँदैन”, उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधी खोलाका माछालाई ब्राण्डिङ गर्नुपर्नेमा जोड दिनुभयो । 

जलारी समुदायको जीवनयापनको आधार माछा भएको र यसको लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको उहाँको भनाइ थियो । 

खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी रहेकाले कम्तीमा पनि १५ देखि २५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो ।  

हेडे जातका २५ हजार, गर्दी जातका २५ हजार, ठेड जातका २५ हजार र सहर जातका २५ हजार गरी एक लाख माछा खोलामा छाडिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

यस्तै, गरी अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेन्ट लगाउने, विषादी हाल्ने जस्ता कुनै पनि तरिकाले आँधी खोलामा माछा मार्न समेत बन्द गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले स्याङ्जा स्थित काली गण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधी खोलाको विभिन्न १० ठाउँमा छोडेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button