तपाईँ सुन्दै हुनुहुन्छः

संसद् चलाउन सरकारले पहल गर्नुपर्छ : नेकपा एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध अन्त्यका लागि सरकारले भूमिका खेल्नुपर्ने जनाएको छ । 

एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले संसदमा जारी गतिरोध अन्त्यका लागि सत्तापक्षबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । 

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताउनुभयो ।

एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति भवन ललितपुरमा पाँच वर्षका लागि सार्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो । 

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न भएको थियो । 

दोस्रो केन्द्रीय कमिटीको बैठकले ४४ जना सदस्यलाई मनोनयन गरेको थियो । दोस्रो बैठकले कमिटीमा मनोनयन, नेताहरूको कार्य विभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरण लगायतका विषयमा निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button