तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा १ लाख १८ हजार ७ सयभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

बीरगंज  । पर्सामा सञ्चालित ६ दिने खोप अभियानमा १ लाख १८ हजार ७ सयभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । 

कोरोना महामारीको दुवै लहरमा ‘हटस्पट’ बनेको पर्सामा योसँगै ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । 

विभिन्न चरणमा गरी जिल्लामा ४ लाख ५ हजार ९ सय ९९ डोज कोरोना खोप खपत भइसकेको छ । 

२ लाख ३१ हजार ५ सय ७ जनाले पहिलो डोज र १ लाख ७२ हजार ५ सय ९२ जनाले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । 

जिल्लामा खोप लगाउन सक्ने जनसङ्ख्या ४ लाख ४५ हजार ३ सय ६८ रहेको र हालसम्म ४०.६३ प्रतिशतको पहुँचमा पूर्ण खोप पुगेको छ । अझै २ लाख १३ हजार ८ सय ६१ जनाले खोप लगाउन बाँकी रहेको खोप अधिकृत जयमोद ठाकुरले बताउनुभयो । 

पर्सा जिल्लामा पछिल्लो पटक मङ्सिर २२–२७ सम्म खोप अभियान सञ्चालन गरिएको थियो । 

जसमा एचआइभी संक्रमित, देह व्यापारमा संलग्न महिला र तेस्रो लिङ्गीले पनि खोप लगाएको ठाकुरले बताउनुभयो । 

खोप अभियानमा ६० जना एचआइभी संक्रमित, देह व्यापारमा संलग्न १५ महिला र तेस्रो लिङ्गी १५ जनाले खोप लगाएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सुरुमा पहिचान खुल्ने डरले एचआइभी संक्रमित सार्वजनिक ठाउँमा कोरोना विरुद्धको खोप लगाउन हच्किएका थिए । पहिचान नखुल्ने आश्वस्त पारेपछि मात्रै उनीहरूलाई खोप अभियानमा समेट्न सकिएको ठाकुरले जानकारी दिनुभयो । 

६ दिने विशेष खोप अभियानअन्तर्गत उनीहरूलाई वीरगन्जको नयाँ बसपार्क र घण्टाघरमा खोप लगाउने व्यवस्था मिलाइएको थियो । 

विशेष खोप अभियानअन्तर्गत पर्सामा कूल १ लाख १८ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । 

तीमध्ये २४ हजार १ सय ८३ जनालाई कोभिसिल्ड खोप दिइएको थियो । उनीहरूमध्ये ६ सय ४१ जनाले पहिलो र २३ हजार ५ सय ४२ जनाले दोस्रो डोज खोप लिएका थिए । 

त्यसैगरी, ८२ हजार ६ सय ८३ जनाले भेरोसेल खोपको पहिलो डोज र ११ हजार ९ सय २२ जनाले दोस्रो डोज लिएका थिए । 

१२–१७ वर्ष उमेर समूहका २ हजार ५ सय ५३ बालबालिकाले पहिलो चरणको फाइजर खोप यसअघि नै लिइसकेकोमा उनीहरूलाई दोस्रो चरणको खोप बिहीबारबाट दिन सुरु गरिएको ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button