तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिले कोदो खेतीमा आकर्षण

तनहुँ । कृषि पेशामा उत्पादन लिन सबैभन्दा झन्झटिलो मानिने कोदो खेतीमा तनहुँका किसानको आकर्षण बढ्न थालेको छ । सजिलै उत्पादन गरेर उपभोगका लागि तयार गर्न प्रविधिको विकास भएपछि किसान कोदो खेतीमा आकर्षित भएको पाइन्छ । कोदो टिप्ने र चुट्नका लागि अनुदानमा थ्रेसर मेसिन पाएपछि जिल्लमा कोदो खेती गर्ने किसान बढेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केही वर्ष अघिसम्म खेती नहुँदा बाँझिएका बारीमा कोदो खेती हुन थालेको ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । तिवारीका अनुसार तीन वर्षदेखि जिल्लामा रैथाने बाली संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । कोदो, फापर, उवा, कागुनो लगायतका बाली लोप हुने अवस्थामा पुगेसँगै संरक्षण गर्न किसानलाई प्रोत्साहन स्वरूप ज्ञान केन्द्रले बिउ वितरण, अनुदानमा कृषि उपकरण, आवश्यक प्राविधिक ज्ञान दिँदै आएको उहाँको भनाई छ ।

अहिलेको अस्वस्थ जीवनशैलीमा कोदोबाट बन्ने परिकार  स्वास्थ्यवर्द्धक हुनुका साथै बजारमा माग पनि बढ्न थालेकाले कोदो खेती गर्ने किसान बढेको उहाँको भनाई छ । ‘बजारमा नाम चलेको रेष्टुरेन्टहरुमा कोदोको परिकारका मेनुहरु बन्न थालेका छन् । बिरामीलाई समेत कोदोको परिकार फाइदाजनक हुने भयो ।  त्यसैले यसको संरक्षणका लागि कार्यक्रम बनाएका छौँ’, उहाँले भन्नुभयो ।

ज्ञान केन्द्रले रैथाने बाली संरक्षण कार्यक्रम अन्तर्गत गत वर्ष मात्र जिल्लाका १८ जना किसान र समूहलाई कोदो चुट्ने थ्रेसर अनुदानमा वितरण गरेको थियो । चालु आर्थिक वर्षमा समेत १० जनालाई थ्रेसर वितरण गरेको केन्द्रले जनाएको छ । ९० प्रतिशत अनुदानमा प्राप्त गर्न सकिने थ्रेसरले कोदो खेती गर्ने किसानहरूलाई सहयोग पुर्‍याएको शुक्लागण्डकी नगरपालिका–२ दगामका किसान नन्दबहादुर थापाले बताउनुभयो ।

दगाममा होमस्टे समेत सञ्चालन गर्दै आएका थापाले कोदोको माग बढेपछि उत्पादनमा जोड दिएको बताए । कोदो चुट्न थ्रेसरले किसानलाई राहत पुग्ने उहाँको भनाई छ । बढी जनशक्तिको प्रयोग हुने काम मेसिनको साहारामा गर्न सकिने भएपछि गाउँमा कोदो उत्पादन बढेको उहाँले बताउनुभयो ।

कोदो बालीको संरक्षण गर्न जिल्लाको व्यास नगरपालिका–१३ मेवाबारीका किसान समूह गठन गरेर लागेका छन्  । २३ जनाको समूह बनाएर कोदो उत्पादन गर्ने किसानले बर्षेनी सयौँ मुरी कोदो भित्र्याउने गरेको समूहमा आबद्ध किसान कृष्णबहादुर गुरुङले बताउनुभयो । लगानी र मेहनत अधिक प्रतिफल कम हुँदा कोदो रोप्न छाडेका किसानले पछिल्लो समय हाते ट्याक्टर, थ्रेसर लगायतका उपकरण अनुदानमा पाएपछि कोदो रोप्न सहज भएको उहाँले बताउनुभयो । समुदायको जातीय संस्कृतिको संरक्षण र बजारमा बस्ने आफन्तको माग धान्न कोदोको उत्पादन घट्दा मुस्किल हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

जिल्लाको भिमाद र शुक्लागण्डकी नगरपालिकाका ग्रामीण क्षेत्र कोदो उत्पादनको दृष्टिले उर्वर रहेको ज्ञान केन्द्रकी कृषि प्रचार अधिकृत प्रकृति न्यौपानेले बताउनुभयो । न्यौपानेले यहाँका छ हजार ५ सय २८ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको जानकारी दिनुभयो । जिल्लामा गत वर्ष पाँच हजार ८ सय १९ मेट्रिक टन कोदो उत्पादन भएको थियो । यस वर्ष कोदोको उत्पादन बढ्न सक्ने न्यौपानेको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button