बैतडीका धार्मिक पर्यटकीय स्थलहरू ओझेलमा
बैतडी । सरकारी तथा गैर सरकारी निकायबाट पर्यटन प्रवर्धनका लागि ठोस योजना नहुँदा बैतडीका धार्मिक पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् ।
ठोस नीति नभएका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेका ७ बहिनी भगवती मन्दिर, ४ वटा केदार धाम, महारुद्र धाम, बनारसी धाम, रामेश्वर धाम, शिवनाथ, चतुर्वाहु र गणमेश्वर धाम लगायतका धार्मिक पर्यटकीय स्थलको प्रचार प्रसार नभएको हो ।
१६ बहिनी भगवती मध्येकी ७ बहिनी भगवतीको पुज्यस्थान बैतडी जिल्ला रहेकाले पनि भारतीय पर्यटकहरूका लागि आकर्षक गन्तव्य रहेको त्रिपुरासुन्दरीका पुजारी विष्णु दत्त लेखक बताउनुहुन्छ ।
शिव र शक्तिको पुज्यस्थान रहेको बैतडी जिल्लामा रहेका रौलाकेदार, ग्वाल्लेक केदार, देउलेक केदार र ध्वज केदारको दर्शन गरी प्रसाद ग्रहण गरेमा बद्री केदारनाथको दर्शन गर्नु नपर्ने महारुद्रका पुजारी शिव दत्त अवस्थी बत्ताउनुहुन्छ ।
यी धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि ५ वर्षीय गुरु योजना तयार गरी प्रदेश सरकार र सङ्घीय सरकारमा पटाइसकेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट बताउनहुन्छ ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले शिगास संरक्षित वन र ग्वाल्लेक संरक्षित वन बाहेक अन्य कुनै ठोस योजना अगाडी नसारेकोमा यहाँका व्यापार व्यवसाय समेत प्रभावित भएको उद्योग वाणिज्य सङ्घ बैतडीले जनाएको छ ।
स्थानीय तहबाट पर्यटन प्रवर्धनका लागि कुनै ठोस योजना तथा प्रस्ताव नआउँदा धार्मिक पर्यटकीय स्थलको विकासमा चाहे जति बजेट विनियोजन गर्न नसकिएको पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्