स्वास्थ्य बीमा सम्बन्धी सन्देश र सूचनामूलक कार्यक्रम प्रसारण गर्न सम्झौता

काठमाडौँ । रेडियो नेपाल र स्वास्थ्य बीमा बोर्डबिच रेडियो नेपालको केन्द्रिय प्रसारणबाट स्वास्थ्य बीमा सम्बन्धी विभिन्न प्रकारका सन्देश प्रसारणका लागि सम्झौता भएको छ ।
स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँमा आज रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
गत सालदेखि नै रेडियो नेपालमा प्रसारण हुँदै आएको सन्देश र सूचनामूलक कार्यक्रम आगामी २०७९ असार ९ गतेसम्म प्रसारण गर्ने गरी सम्झौता गरिएको हो ।
बीमा बोर्डले हाल देशका ७५ जिल्ला र ललितपुरका केही पालिकाहरूमा पनि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै बोर्डका निर्देशक डा.बसौलाले यसै आर्थिक वर्षदेखि ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा सम्बन्धी सेवा प्रदान गर्ने गरी काम भइरहेको पनि जानकारी दिनुभयो ।

सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले सरकारले निम्न आय भएका नागरिकहरूका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याएको भन्नुहुँदै यस्तो कार्यक्रमले नागरिकहरूमा स्वास्थ्यको पहुँच पुग्ने बताउनुभयो ।
विमा कार्यक्रममा सहभागी हुन ५ जना सम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३५ सय रुपैयाँ योगदान रकम तिर्नुपर्ने हुन्छ भने ५ जनाभन्दा बढी सदस्य भए ७ सय रुपैयाँका दरले योगदान गर्नुपर्ने हुन्छ ।
७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकको हकमा योगदान र हकमा पूर्ण छुटको व्यवस्था छ साथै ज्येष्ठ नागरिकले स्वास्थ्य बीमाबाट १ लाख रुपैयाँ सम्मको उपचार सेवा पाउने व्यवस्था छ ।
स्वास्थ्य बीमा कार्यक्रमको लागि सदस्यता दर्ता गर्न स्थानीय तहका प्रत्येक वडाबाट १÷१ जनाका दरले दर्ता सहयोगी नियुक्त गरिएको हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्