काँग्रेस १४औँ महाधिवेशन : महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४ हजार ३ सय ९० मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले २ हजार ८ सय २३ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का उम्मेदवार विश्वप्रकाश शर्माले १ हजार ८ सय २४ मत ल्याउनुभएको छ ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १ हजार ४ सय ५५, प्रदीप पौडेलले १ हजार ३ सय ३, डा मीनेन्द्र रिजालले ७ सय ५३ र डा राजाराम कार्कीले १ सय मत प्राप्त गर्नुभएको छ ।
काँग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । काँग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार हुनुहुन्छ ।
महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो ।
सोमबारको मतदानमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधवार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसक्नुभएको छ ।
सभापतिबाहेक अन्य पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधवार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यक बाट १, अपाङ्गबाट १ सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्