कर्णाली प्रदेशसभामा अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक दर्ता

सल्यान । कर्णाली प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता भएको छ ।
गैरसरकारी विधेयकका रुपमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कानुन मन्त्री नरेश भण्डारीले सचिवालयमा ‘कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक , २०७८’ बुधवार दर्ता गराउनुभएको हो ।
विधेयक दर्तापछि पत्रकारसँग कुरा गर्नुहुँदै भण्डारीले कर्णालीको विज्ञान तथा प्रविधिको क्षेत्रमा नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन, प्रोत्साहन र कदर गरी आर्थिक समृद्धियुक्त खुसी समाज निर्माण गर्ने उद्देश्यले आविष्कार प्रतिष्ठानको पुनर्स्थापना विधेयक ल्याइएको बताउनुभयो ।
अहिलेको विज्ञान र प्रविधिको युगलाई खासै चासो नदिइएकोले ऐनमार्फत देशभित्र तथा विदेशका नयाँ आविष्कारसँगै नवीन सोच र अवधारणालाई स्थान दिने गरी विधेयक ल्याइएको उहाँको भनाई छ ।
खास गरी अब्बल मस्तिष्कहरूको प्रयोग नहुँदा प्रतिभावान् जनशक्ति हताश हुँदै गएका छन् यद्यपि यो अन्वेषण तथा आविष्कार प्रतिष्ठानले ती प्रतिभालाई आकर्षित गर्ने भण्डारीको दाबी रहेको छ ।
कर्णालीका नागरिकहरूको खुसी, सुख र समृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिभाहरूलाई केन्द्रित गरी उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने कार्य आविष्कार केन्द्रले गर्ने उहाँको भनाई छ ।
“नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान वा अनुदान दिएर नवप्रतिभाहरूको नव प्रवर्तनात्मक कार्यलाई उत्साहित बनाउने कार्य यसमा व्यवस्था हुनेछ ।”, उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य भण्डारीले पलायन हुँदै गरेको प्रतिभालाई उत्पादनसँग जोड्ने र ‘नयाँ अवधारणा ल्याऊ, पैसा लिएर जाऊ’ नीति अख्तियार गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्