काँग्रेस १४औँ महाधिवेशन : उपसभापतिको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ ।
बेलुकी ५ बजेदेखि सुरु हुने भनिएको मतगणना अहिले बेलुकी ६ बजेदेखि सुरु भएको र अहिले मतपत्र मिलाउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा भइरहेको छ ।
उपसभापति पदको मतगणना पुरा हुन ३ देखि ४ घण्टासम्म लाग्ने भएकाले राती ११ बजेसम्ममा परिणाम आइसक्ने अनुमान निर्वाचन समितिको रहेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
काँग्रेसको दुई जना उपसभापतिका लागि ७ जना उम्मेदवार रहनुभएको छ ।
उप सभापतिमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छेदार र पूर्णबहादुर खड्का, डा.शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला तथा विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उपसभापतिका लागि उम्मेदवार रहनुभएको छ ।
यसैगरी, पूर्व मन्त्री महेश आचार्य पनि उपसभापतिमा उम्मेदवार रहनुभएको छ ।
१४ औँ महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित भइसक्नुभएको छ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि हिजो (मङ्गलवार) भएको दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री देउवा दुई हजार ७ सय ३३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।
उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना भोलि बिहीबार बिहान सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्