विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र हो : शिक्षामन्त्री

काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय मानव जातिलाई जीवन जिउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्त्वपूर्ण थलो भएको बताउनुभयो ।
सहकुलपति समेत रहनुभएका उहाँले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताउनुभयो ।
‘विश्वविद्यालय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा व्यक्तिको मार्गदर्शन थलो हो,’ उहाँले भन्नुभयो, ‘दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’
विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणका बाहक भएको बताउँदै उहाँले देश निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी दीक्षित विद्यार्थीको काँधमा रहेको बताउनुभयो ।

‘शिक्षित र सभ्य युवा नै राष्ट्र निर्माणका कर्णधार हुन्’ उहाँले भन्नुभयो,’ ‘मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डोर्याउने जिम्मेवारी पनि तपाईँकै काँधमा निहित छ ।’
समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली विद्यार्थीहरू पढाइको खोजीमा बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।
‘नेपाली विद्यार्थीहरू पढाइको खोजीमा अब बाहिर जाने होइन, ’उहाँले भन्नुभयो, ‘अन्य देशका विद्यार्थीहरू काठमाडौँ विश्वविद्यालयमा पढ्न आउन प्रतिस्पर्धा गर्न पाउने विश्वविद्यालयको रूपमा विकास गर्नुहोस् ।’
कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयले पहिलो पटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबिएका १७ विद्यार्थीलाई उपाधि प्रदान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्