झापामा १० मेगावाटको सौर्य ऊर्जा परियोजनाको शिलान्यास

भद्रपुर, झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ ।
नेकपा एमाले संसदीय दलका उपनेता एवम् संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले वैदिक विधिपूर्वक मङ्गलवार परियोजनास्थलमा इँटामा सिमेन्ट घोला हालेर पूजापाठ गर्दै परियोजनाको शिलान्यास गर्नुभएको हो ।
८० करोड रुपैयाँ लगानी रहने यो परियोजनाको नाम झापा इनर्जी लिमिटेड रहेको छ । परियोजना स्थल शिवसताक्षी नगरपालिका वडा नं. ४ शिवगञ्जको बोलोचोकमा छ ।
१० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको यो परियोजना मुलुककै सबैभन्दा ठूलो सोलार प्रोजेक्ट भएको बताइन्छ । यहाँबाट उत्पादित विद्युत् एक किलोमिटर नजिक रहेको नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिडमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने झापा इनर्जी ली.का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले जानकारी दिनुभयो ।
कम्पनीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष साँवाले परियोजना एक वर्षभित्र सम्पन्न भएर विद्युत् ग्रिडमा जोडिने बताउनुभयो ।
७० प्रतिशत बैङ्कको लगानी रहने परियोजनामा ३० प्रतिशत कम्पनीका सेयर धनीहरूको रहेको छ ।
समारोहमा प्रमुख अतिथि नेम्बाङले पनि परियोजनामा ५ लाख रुपैयाँ शेयर हाल्ने बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्