समाज विकासका लागि भौतिक विकाससँगै मानव विकासलाई ध्यान दिनुपर्छ : उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समाज विकासका लागि भौतिक विकाससँगै मानव विकासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा कार्यक्रममा बोल्दै पौडेलले मानव विकासको मुख्य आधार बालबालिकाको विकासमा भर पर्ने भएकाले बालमैत्री नगरबाट त्यस खालका कार्यक्रमहरूले प्राथमिकता पाउने बताउनुभएको हो ।
लुम्बिनी प्रदेशमा पहिलो पटक बालमैत्री घोषणा गरेर नमुना पालिका बनाएकोमा तिलोत्तमा नगरपालिकाको टिमलाई नेता पौडेलले प्रशंसा गर्नुभएको थियो ।
तिलोत्तमाले भौतिक विकाससँगै मानव विकासलाई अगाडि सारेको उदाहरणीय कामलाई सबै पालिकाले अनुसरण गर्नुपर्ने पौडेलको भनाई थियो ।
“भौतिक विकासका कार्यक्रमको चिन्ता नलिनुहोस्, त्यो जिम्मा हामीले लिन्छौ, तपाईँहरू माग्नुहोस् हामी पूरा गर्छौँ, पूर्वाधारलाई नमुना बनाउँछौँ यसको साथमा मानव विकासलाई ध्यान दिएर अगाडि बढ्नुहोस्”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा सङ्घीय सांसद घनश्याम भुसालले लिखित शुभकामना दिनुभएको थियो ।
लुम्बिनी प्रदेशका कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले लुम्बिनी प्रदेशका १०९ पालिकामा तिलोत्तमा बालमैत्री नगर घोषण गर्ने पहिलो पालिका भएको बताउनुभयो ।

उहाँले बालमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले सबै स्थानीय सरकारलाई आग्रह गरेको र त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने हुन्छ ।
त्यस्तै, ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।
त्यसपछि शतप्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतिजा हासिल भएका सूचकलाई शतप्रतिशतमा पुर्याउने प्रतिबद्धतासहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिबद्धता गरेमा बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्