तपाईँ सुन्दै हुनुहुन्छः

बाच्छी पाडी संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान

तनहुँ । भैँसीको पाडी र गाईको बाच्छी हुर्काउने किसानलाई अनुदान दिन थालिएसँगै आकर्षण बढेको छ । 

भैँसी र गाईको दूध उत्पादनमा वृद्धि गर्न भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडी बाच्छी हुर्काउनेलाई अनुदानको व्यवस्था गरेको हो ।

पाडी र बाच्छी हुर्काउने किसानलाई बढीमा ५० हजार रुपैयाँसम्म अनुदान दिइने केन्द्रका प्रमुख  डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

एउटा पाडी वा बाच्छी हुर्काएपछि १० हजार रुपैयाँको दरले अनुदानको व्यवस्था गरिएको बताउँदै डा. श्रेष्ठले अनुदान पाउने भएपछि किसान उत्साहित भएको बताउनुभयो ।

गत बर्ष १५० किसानलाई पाडी तथा बाच्छी हुर्काउनलाई अनुदान दिएको केन्द्रले जनाएको छ । 

चालु आर्थिक वर्षमा पनि बढीमा एक सय पशुपालन किसानलाई अनुदान दिन १० लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

पशुपालनका लागि उन्नत जातका गाई भैँसीको स्रोत केन्द्र निर्माण गर्न केन्द्रले बाच्छी पाडी संरक्षण कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । 

उन्नत जातका गाई र भैँसीमा कृत्रिम गर्भधान गरी जन्मिएका पाडी र बाच्छीलाई मात्र अनुदान दिने व्यवस्था रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लामा यो कार्यक्रम प्रभावकारी भएको दाबी गर्दै श्रेष्ठले पाडी बाच्छी हुर्काउने किसान बढिरहेको बताउनुभयो । 

उहाँले वार्षिक कार्यक्रम अनुसारको बजेटले नसमेटिने किसानका लागि मन्त्रालयमार्फत बजेटको माग गरी अनुदान दिने तयारी भइरहेको बताउनुभयो ।

मुलुकलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन पाडी तथा बाच्छी संरक्षण कार्यक्रमले महत्त्वपूर्ण टेवा पुर्‍याउने केन्द्रले जनाएको छ । 

कार्यक्रमले मुलुकमै पर्याप्त दूध उत्पादन गर्नुको साथै अन्य मुलुकबाट उन्नत जातका गाई भैँसी आयात गर्नुपर्ने बाध्यतालाई निरुत्साहित गर्ने जनाइएको छ ।

दूध उत्पादनमा आत्मनिर्भर रहेको तनहुँमा वार्षिक ३८ हजार मेट्रिक टन दूध उत्पादन हुने गर्दछ । ३१ हजार मेट्रिक टन दूध जिल्लामै खपत हुन्छ । तनहुँमा दूध उत्पादनका लागि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका पकेट क्षेत्र हुन् । 

जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि कास्कीबाट प्याकेटमा आउने दूधको खपत भने घटेको छैन । यद्यपि जिल्लाका किसानले उत्पादन गरेको दूध जिल्ला बाहिर पनि खपत हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button