परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।
कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दिगो रुपमा समाधानका लागि पहल गर्ने बताउनुभयो ।
उहाँले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरूको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आवश्यकता, रुचि र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्य आर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताउनुभयो । सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताउनुभयो ।
एमाले सांसद शान्ता चौधरीले कमैया, कमलरी र हलियाका रूपमा दुःख पाएकाहरू मुक्त भएपछि पनि न्यायिक पुनः स्थापना प्रभावकारी हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ, कमैया महिला जागरण समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, बाध्यकारी श्रम निर्मुलन पैरवी समूहका प्रतिनिधिहरूले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्तिको घोषणापछि न्यायिक पुनः स्थापना प्रभावकारी हुन नसकेको बताउनुभएको थियो ।
कसैलाई पनि शोषण, बेचबिखन, दासत्व जस्ता कार्यमा संलग्न गराउन नपाइने संवैधानिक व्यवस्था छ । हरवाचरवाहरु संविधानप्रदत्त रोजगारीको छनौटको स्वतन्त्रता, मर्यादापूर्ण श्रम अभ्यास, न्यूनतम ज्याला लगायतबाट वञ्चित छन् ।
मन्त्री श्रेष्ठले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्ति र पुनः स्थापनाको लागि गर्नुपर्ने काम अन्य मन्त्रालयसँग पनि सम्बन्धित रहेकोले आवश्यक समन्वय गर्ने विश्वास दिलाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्