तपाईँ सुन्दै हुनुहुन्छः

मिछुर्लुङ डाँडामा भ्यू टावर ठडिँदै

तनहुँ । पर्यटन प्रवर्द्धनका लागि गाउँको अग्लो डाँडामा भ्यू टावर बनाउने लहरले तनहुँको भिमाद नगरपालिका ५ मिर्छुलुङका अगुवाहरूलाई पनि छोएको छ । प्राकृतिक रूपमा उच्च रहेको स्थानमा नै भ्यू टावर बनाउँदा पर्यटक पुग्ने बुझाइका साथ अहिले यहाँ १५ मिटर अग्लो भ्यू टावर बन्ने क्रममा छ ।

मिर्छुलुङ पुर्ख्यौली घर भई विदेशमा बस्ने नागरिकहरूबाट आर्थिक सहयोग जुटाएर भ्यू टावर निर्माणको थालनी गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा टावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । समुन्द्री सतहबाट सात सय ५० मिटर अग्लो डाँडामा बन्न लागेको भ्यू टावरको लागि ३४ लाख रकम सङ्कलन भई सकेको समितिका कोषाध्यक्ष मनोज आले मगरले जानकारी दिनुभयो । ३८ लाखको लागतमा बन्ने टावरका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्र पारिएको आलेले बताउनुभयो ।

६ वर्ष अगाडीदेखि यहाँका मगर समुदायले सञ्चालन गर्दै आएको ग्रामीण घरबास कार्यक्रम (होमस्टे) सँगै यहाँबाट देखिने प्राकृतिक सुन्दरताको प्रवर्द्धन गर्न भ्यू टावरले सहयोग पुर्‍याउने स्थानीयले विश्वास लिएका छन् । मगर संस्कृतिमा आधारित होमस्टेमा आउने पाहुनाहरू कोरोना महामारीसँग आउन छोडेपछि पर्यटन प्रवर्द्धनका लागि आकर्षणका क्षेत्रहरू थप्ने योजनामा पुगेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । यो होम स्टेमा ६० जनासम्म पर्यटकहरूलाई राख्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

भ्यू टावरको जग (फाउण्डेशन) राख्ने काम सम्पन्न भइसकेको छ भने पिल्लर सहितका संरचना निर्माणका काम सुरु गर्ने तयारीमा रहेको समितिले जनाएको छ । भ्यू टावर निर्माणका लागि ३८ लाख चार हजार नौ सयमा साराङ्गकोट निर्माण सेवाले ठेक्का पाएको छ ।

आगामी २०७९ वैशाख मसान्त भित्र निर्माण सकिने भ्यू टावरको मङ्सिर २० गते भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले शिलान्यास गर्नुभएको थियो । भ्यू टावरको शिलान्यास गर्दै मेयर थापाले टावर निर्माण क्षेत्रमा अन्य संरचना निर्माणका लागि नगरपालिका मार्फत पाँच लाख विनियोजन भएको बताउनुभएको थियो । उक्त बजेट मार्फत बगैँचा र चर्पी निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष थापाले बताउनुभयो ।

भ्यू टावर निर्माण स्थलमा जान आकर्षक सिँढी सहितका बाटो निर्माणका लागि समितिले गण्डकी प्रदेश सरकार र अन्य संरचना निर्माण गर्न सङ्घ सरकारलाई सहयोगका लागि अपिल गर्ने भएको छ ।

यहाँबाट माछापुच्छ्रे अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खलाका दृश्यावलोकन गर्न सकिन्छ भने क्यानोनिङ्गको सम्भावना रहको आँटीछाप झरना र बाजाको तालमा बजाउन सकिने ढुङ्गाको ढुङ्गे पहराले पर्यटकलाई लोभ्याउँछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button