चितवनमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीव्र

चितवन । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यही पुस २ देखि ४ गतेसम्म चल्ने प्रथम अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा छैठौ संस्करणको तयारी तीव्र पारिएको छ ।
चितवन उद्योग सङ्घ र मिडिया स्पेसको व्यवस्थापकीय साझेदारीमा गर्न लागिएको प्रदर्शनीको तयारी तीव्र पारिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दियो ।
प्रदर्शनीमा राखिने २०० स्टलहरूमध्ये ५० भन्दा बढी स्टल भारतबाट आउनेछन् । सबैजसो स्टलहरू बुकिङ भइसकेको र प्रदर्शनकर्ता आउने तयारी गरेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
विगतका औद्योगिक प्रदर्शनी भन्दा यो प्रदर्शनी पृथक् रहने आयोजकको दाबी छ । ‘मुख्यतया निर्माण सामाग्री तथा उत्पादनमूलक उद्योगका मेसिन तथा औजारको प्रदर्शन हुनेछ, कँडेलले भन्नुभयो, हामीले नवउद्यमलाई यस क्षेत्रतर्फ आकर्षण सेमिनार तथा गोष्ठीको पनि आयोजना गर्नेछौँ ।’ उहाँका अनुसार घरेलु तथा लघु उद्यमलाई समेत प्राथमिकतामा राखिएको छ । जसले गर्दा महिला उद्यमीहरूले पनि यसबाट बढी भन्दा बढी लाभ लिन सकुन् ।
सार्क राष्ट्र तथा युरोपियन देशबाट स्टल राख्न इच्छुक भए पनि तेस्रो कोरोना भेरियण्टका कारण आउन नसकेको कँडेलले बताउनुभयो ।
प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी लगायत, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, नेपाली उद्योगका सञ्चालक तथा लगानीकर्ताहरु, उद्यमीका व्यावसायिक परामर्शदाताहरू, वित्तीय सेवा प्रदायकहरू, खोज तथा अनुसन्धानकर्ताहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरू अवलोकनकर्ता रहनेछन् ।
बढी भन्दा बढी नव उद्यमी जन्माउने उद्देश्य सहित उक्त प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनी केन्द्र सम्पन्न गर्न सवा दुई करोड हाराहारीमा खर्च हुने ५ देखि सात लाख आम्दानी हुने अपेक्षा उद्योग सङ्घको छ । ‘यो विटुबी औद्योगिक प्रदर्शनी हो, अध्यक्ष कँडेलले भन्नुभयो , आम्दानी लक्षित नभई प्रवर्द्धन गर्ने उद्देश्य हो ।’ अवलोकन कर्ताको लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय छुट्ट्याइएको र निःशुल्क प्रवेश पास मिलाइएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्