तपाईँ सुन्दै हुनुहुन्छः

सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न, केही बेरमा मतगणना सुरु हुने

काठमाडौँ  । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । 

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका सिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको ।  

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्याशी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको  मतदान भएको हो । 

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । 

सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button