चाँगुनारायण नगरपालिकामा अख्तियारको अनुसन्धान

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्ष भित्र सञ्चालन गरेका रु ५ लाख भन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो ।
अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले मङ्गलवार चाँगुनारायण नगरपालिकाका योजनाको कागजपत्र नियन्त्रणमा लिएर छानबिन गरेको हो ।
खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको र त्यसकै आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो ।
टोलीले योजनाको लागत इष्टिमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ । यसै गरी नगरपालिकाको खरिद प्रक्रियाका बारेमा पनि अनुसन्धान गर्ने जनाएको छ ।
स्रोतका अनुसार अख्तियारले केही समय अघि आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का योजना र खरिदका फाइल माग गरी लगेको र ती फाइलको अनुसन्धानपछि थप प्रमाणीकरणका लागि नगरपालिका आएर अनुसन्धान गरेको हो ।
नगरपालिकामा अख्तियारको टोलीले छानबिन गरेको पुष्टि गर्दै नगरप्रमुख सोम प्रसाद मिश्रले टोलीलाई आवश्यक सहयोग गरेको बताउनुभयो । टोलीले विभिन्न योजनाका कागजपत्र माग गरेको र सो अध्ययन गरी सम्बन्धित निकायका कर्मचारीसँग सोधपुछ समेत गरिरहेको नगरप्रमुख मिश्रले बताउनुभयो ।
अख्तियारको टोलीले आज बिहानैदेखि अनुसन्धान गरिरहेको बताउँदै उहाँले टोलीलाई आफ्नै कार्यकक्षमा राखेर अनुसन्धान गर्न दिएको र अख्तियारको टोली नगरपालिकामा सात दिन रहने जानकारी पाएको नगरप्रमुख मिश्रले बताउनुभयो ।
स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको जनगुनासो बढेपछि अख्तियारले स्थानीय तहमा योजना कार्यान्वयनको अवस्था, भुक्तानी र खरिद प्रक्रियाका बारेमा विस्तृत अध्ययन गर्ने उद्देश्यले अनुसन्धानका लागि आएका हौँ भनी जानकारी दिएको छ,’ नगरप्रमुख मिश्रले बाँकी अनुसन्धानको पाटो सकिएपछि थाहा होला भन्नुभयो ।
पालिकाकामा कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि अख्तियारको विशेष टोली खटिएको हो ।
नगरपालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजात नियन्त्रणमा लिइएको बताउँदै बाँकी विषय थप अनुसन्धानबाट खुल्छ, अख्तियार प्रवक्ता रिसालले भन्नुभयो, खासगरी खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने सूचना र उजुरी परेको थियो । त्यसपछि केन्द्रबाटै विशेष टोली खटाइएको बताएको छ ।
पछिल्लो पटक अख्तियारको वार्षिक प्रतिवेदनमा पनि स्थानीय तहविरुद्ध सबैभन्दा बढी अनियमितका उजुरी परेको उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्