होमस्टे सञ्चालन गर्न चापाकोटमा सांस्कृतिक महोत्सव गर्दै युवा

कास्की । पोखरा २३ रहेको चापाकोटमा देउराली सामुदायिक होमस्टेमा कोरोनाका कारण पर्यटकहरूको चहलपहल शून्य जस्तै बन्यो । सुस्ताएको ग्रामीण पर्यटनलाई माथि उकास्न स्थानीय युवाहरूले सांस्कृतिक महोत्सवको आयोजना गरेका छन् ।
‘चापाकोटमा देउराली सामुदायिक होमस्टे सञ्चालन गर्न सांस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ । पर्यटन गतिविधि चलायमान बनाउन महोत्सव सञ्चालन गर्न लागिएको देउराली सामुदायिक होमस्टेका सञ्चालकहरू बताउँछन् । चापाकोट पर्यटन प्रवर्द्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक भीम पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार उक्त मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ । संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको बताउनुभयो ।
त्यसैगरी महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समूहले प्रमाणपत्र तथा मेडल सहित नगद रु ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहले मेडल तथा प्रमाणपत्र सहित क्रमशः २० हजार, १० हजार र ५ हजार हात पार्नेछ ।
महोत्सवमा विभिन्न प्रतियोगितासँगै सांस्कृतिक विशेष आकर्षणहरू समेत समावेश गरिएको पराजुलीले बताउनु भयो । ‘हामीले प्रतियोगिता मात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्य सहित विभिन्न ख्याति प्राप्त कलाकारहरूलाई पनि निम्ताएका छौ, उहाँले भन्नु भयो ।
योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’ सांस्कृतिक कार्यक्रम तर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापती सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना लगायतको बेजोड प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्