तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा १० लाखले कोरोनाविरुद्वको खोप लगाए

सुर्खेत । कर्णालीका करिब १० लाख नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १८ वर्षमाथिका १२ लाख मध्ये ९ लाख ८२ हजार ३ सय ८३ जनाले खोप लगाएको जनाएको छ । 

प्रदेशका  १० जिल्ला मध्ये सबैभन्दा बढी डोल्पामा खोप लगाइएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार डोल्पामा २८ हजार २ सय ११ लक्षित जनसङ्ख्यामा १७ हजार १ सय ५४ जनालाई खोप दिइएको छ । 

जाजरकोटमा सबैभन्दा कम नागरिकले खोप लगाएका छन् । त्यहाँ ७० प्रतिशत नागरिक खोपबाट वञ्चित छन् । जाजरकोटमा कुला जनसङ्ख्याको ३० प्रतिशतले मात्रै खोप लगाएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोटमा अहिलेसम्म ३४ हजारले पहिलो मात्रा र २३ हजार जनाले दुवै डोज खोप लगाएका छन् । 

प्रदेशका सबैजसो स्वास्थ्य संस्थाहरूबाट खोप दिने व्यवस्था मिलाइएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताउनु भयो । उहाँले अब खोपको पहुँच कम भएका स्थानमा प्राथमिकता दिइने कार्यक्रम बनाइएको जनाउनु भयो । उहाँका अनुसार प्रदेशभरि १२ देखि १८ वर्ष उमेर समूहका २ हजार ९८ जनालाई फाइजर खोप दिइएको छ । 

१२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी मोडर्ना खोप लगाउने तयारी थालिएको केसीले बताउनुभयो । उहाँका अनुसार सुर्खेतका विद्यार्थीलाई यसअघि नै फाइजर खोप दिइसकिएकाले अन्य ९ जिल्लामा उक्त उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइनेछ । 

९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने निर्देशनालयको तयारी छ । विद्यार्थीले उक्त खोप पुस ४ देखि १४ गतेसम्म लगाउन पाउनेछन् । २०६१ मङ्सिरदेखि २०६६ सालसम्म जन्मेकालाई यो खोप दिन लागिएको हो । 

१२ वर्ष उमेर पुगेका र १८ वर्ष ननाघेका बालबालिकाले मात्र खोप पाउने छन् । प्रदेशमा १८ वर्षमाथिका २ लाख १७ हजार ६ सय १७ जनाले खोप लगाएका छैनन् । कुनै पनि मात्रा नलगाएका र पहिलो मात्रा लगाएका गरी प्रदेशभर ६ लाख ९ हजार १ सय १७ जनालाई खोप लगाउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button