तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

सुर्खेत । पश्चिम सुर्खेतको गुटु प्राथमिक चौकी भवन १२ वर्षदेखि अधुरै छ । सरकारले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ मा ठेक्का लगाएको थियो । तर भवन निर्माण कार्यमा ठेकेदार र कर्मचारीको मिलेमतोमै कमसल सामाग्री प्रयोगमा गरेको पाइएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । 

आर्थिक वर्ष २०६६/६७ मा मैनाचुली–सुरुचि जेभीले करिब साढे १४ करोड रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्झौता गरेको थियो । तर, ठेकेदारले भवन निर्माणमा भ्रष्टाचार गरेको मुद्दा सर्वोच्चमा परेपछि १२ वर्षदेखि भवन अलपत्र हो । 

भवन निर्माण सम्पन्न नहुँदै साबिकको सहरी विकास तथा भवन डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । 

आयोजना कार्यालयका प्रमुख अमरबहादुर थापाले गुटु स्वास्थ्य चौकी भवन निर्माणमा अनियमितता भएको उजुरी सर्वोच्चमा विचाराधीन रहेकाले तत्काल निर्माण प्रक्रिया शुरु गर्न नसकिने बताउनु भयो । उहाँले अदालतको आदेशविना विवादास्पद भवन निर्माण अगाडि बढाउन नमिल्ने भएकाले सर्वोच्चबाट फैसला हुने बित्तिकै निर्माण शुरु हुने जनाउनु भयो । 

ठेकेदार र कर्मचारीको बेइमानीले समयमै भवन निर्माण नहुँदा गुटुका महिलाहरू असुरक्षित सुत्केरी हुन बाध्य छन् । भवन निर्माण पूरा नहुँदा स्वास्थ्य चौकीको सम्पूर्ण सेवा एउटै कोठाबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकी प्रमुख इन्द्रबहादुर जैसुरीले बताउनु भयो । उहाँले विभिन्न माध्यमबाट पटक–पटक अधुरो भवन बनाई दिन प्रदेश र सङ्घ सरकारलाई आग्रह गरिए पनि सुनुवाइ नभएको जनाउनुभयो । 

उपचार अभावमा वर्षेनि मातृ शिशु मृत्युदर बढेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ स्थापनाको नीति अघि सारेको थियो । सोहीअनुरूप साबिकको डिभिजन कार्यालयले गुटुमा स्वास्थ्य चौकीका लागि भवन निर्माणको काम थालेको हो । तर, ठेकेदार र कर्मचारीको बेइमानीले समयमै भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा निकै कठिनाइ हुने गरेको स्थानीय जगत जोशीले बताउनुभयो । 

उहाँले सर्वोच्च अदालतले मुद्दा फैसला गर्न ढिलाइ गर्दा आम नागरिकले सास्ती पाउनु परिरहेको जनाउनुभयो । ठेक्का लिने तर काम बीचमै छाड्ने प्रवृत्तिले विकास निर्माणका योजना अलपत्र पार्ने चलनको अन्त्यका लागि सबै पक्ष जबाफदेही हुनु पर्ने गुटुका समाजसेवी काशीराम देवकोटाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button