तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणमा सभापतिमा निर्वाचित हुन्छु : डा कोइराला

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ ।

सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताउनुभयो ।

काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । 

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button