तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा पुनः मतदान

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ । 

काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा  सभापतिका दुवै प्रत्याशी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित हुनुहुन्छ । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको छ । 

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्याशीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने कार्यक्रम तोकिएको थियो ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभयो । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।  

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । 

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ ।  विधान अनुसार, पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । यसैबीच सभापति पदका प्रत्याशी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्याशीहरू सिंह, निधि र गुरुङले समर्थन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button