ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिकको अधिकार हो र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालमा लघु जलविद्युत् परियोजनाको दिगो सञ्चालन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उहाँले नेपालको विद्युत् विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले समुदाय स्तरमा निर्माण गरिएका साना तथा लघु जलविद्युत् आयोजनाहरूको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको आर्थिक स्तरमा वृद्धि ल्याउने हुँदा त्यसतर्फ लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘ हिजोको दिनमा बत्ती बाल्नु नै मुख्य आवश्यकता थियो विद्युत्को खपत बढाउनुपर्ने आवश्यकता छ ।’’
मन्त्री भुसालले अब सम्भव भएसम्म देशका सबै स्थानमा केन्द्रीय प्रसारण पुर्याउने छौँ, तत्काल सम्भव नभएको अवस्थामा सौर्य ऊर्जा तथा लघु जलविद्युत्जस्ता वैकल्पिक ऊर्जा प्रविधिमार्फत जनताको स्वच्छ ऊर्जाको अधिकारको सुनिश्चित गर्ने गरी सरकार अघि बढेको छ भन्नुभयो । नेपालका मित्र राष्ट्रहरूले सडक आयोजना निर्माणमा सहयोग गरेसँगै विद्युत् विकासमा पनि सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले हिजो साना आयोजनाहरूले सीमित वर्गलाई मात्रै लाभ पुगेकामा आज ठुला आयोजनाहरू निर्माणसँगै आम जनतासम्म विद्युत्को पहुँच विस्तार गर्न सम्भव भएको हो भन्नुभयो ।
सो अवसरमा विद्युत् नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले देशभर केन्द्रीय प्रसारण लाइनको विस्तर भएसँगै विगतमा निर्माण गरिएका साना तथा लघु जलविद्युत् आयोजनाहरूको भविष्य अन्योलमा परेको अवस्थामा ती आयोजनाहरूबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्राविधिक मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले देशमा झण्डै दुई हजार ५०० वटा लघु जलविद्युत् आयोजनाहरूमध्ये झण्डै ९० प्रतिशत आयोजनाहरू सञ्चालनमा रहेका बताउँदै आगामी दिनमा यी आयोजनाको दिगो सञ्चालनका लागि केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भएको बताउनुभयो ।
सो अवसरमा प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सरकार, निजी क्षेत्र वा समुदायको लगानीमा निर्माण गरिएका साना तथा लघु जलविद्युत् आयोजनाहरूको विद्युत् खेर जान नदिन त्यसलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आवश्यक प्राविधिक व्यवस्था तथा प्रक्रियागत प्रणालीलाई सरलीकरण गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले विगतमा निर्माण गरिएका साना तथा लघु जलविद्युत्मा राज्य र नागरिकको ठुलो लगानी भएकाले त्यसलाई खेर जान नदिने गरी ती आयोजनाहरूलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक छ भन्नुभयो ।
समाजका अध्यक्ष नारायणध्वज खड्काका अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल इनर्जी फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरे र केन्द्रका चैतन्य मिश्रले केन्द्रीय प्रसारण लाइनमा जोडिएका देशका केही लघु जलविद्युत् आयोजनाहरूको प्रगति अवस्था र आगामी दिनमा अन्य आयोजनाहरूलाई पनि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर वा नेट मिटरिङमार्फत दिगो सञ्चालन गर्न सकिने उदाहरण प्रस्तुत गर्नु भएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्