तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस १४औँ महाधिवेशन : सभापतिमा पुन मतदान शुरु, मतदाताहरु लाइनमा

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानतः सभापति पदको पुनः मतदान हुदैँछ । सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्याशी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मतदानका लागि काठमाडौँको राष्ट्रियसभा गृहमा मतदानको तयारी भएको समितिले जनाएको छ । मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

यसैबीच सभापति पदका प्रत्याशी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्याशीहरू सिंह, निधि र गुरुङले समर्थन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान नेता सिंहको निवास चाक्सीबारी र नेता निधिको निवास बानेश्वरमा पुगेर आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button