तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : विरोधकै बीच ६ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको दशौं अधिवेशन आजदेखि सुरु भएको छ । 

संसद् भवन नयाँबानेश्वरमा आजदेखि सुरू अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बीच ६ वटा अध्यादेश पेस भएका छन् । 

बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्नुभयो । 

यस्तै कानूनमन्त्री बडुले गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८,  तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नुभएको थियो । 

बैठकमा भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री श्री रेणुकुमारी यादवका तर्फबाट कानुनमन्त्री बडुले रेल वे सञ्चालन अध्यादेश पेश गर्नुभएको थियो । 

बैठकमा यसअघि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच सभामुख सापकोटाले संसद्को कारबाही अघि बढाउनुभएको थियो । 

नेकपा एमालेले आफूहरूले कारबाही गरेका १४ जना सांसद संसद् बैठकमा सहभागी भएसम्म विरोध जारी रहने भन्दै सदन अवरोध गर्दै आएको छ । 

अर्को बैठक आगामी पुस ६ गते मङ्गलवार दिउसो १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button