तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौं ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मत परिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरुआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरू उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरुङले १४ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button