तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर प्रहरीद्वारा आठ स्थानीय तह र सबै वडाहरूमा ‘सुझाव तथा गुनासो पेटिका’

उदयपुर । उदयपुर प्रहरीद्वारा जिल्लामा रहेको आठ स्थानीय तह र त्यस मातहतमा रहेको ७५ वडा कार्यालयहरूमा ‘सुझाव तथा गुनासो पेटिका’ स्थापना गरिएको छ । सो पेटिका जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिका र त्यस मातहतमा रहेको ७५ वडा कार्यालयहरूमा स्थापना गरेका हुन् । 

उक्त सुझाव तथा गुनासो पेटिका सर्वसाधारण जनताहरूले आ–आफ्नो ठाउँबाट लिखित रूपमा प्रहरीले गरेको कार्य सम्बन्धी सुझाव तथा गुनासो सहज रूपमा राख्न सकुन् भन्ने उद्देश्यले राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार नगरपालिका, गाउँपालिका र ७५ वडा कार्यालयहरू गरी जम्मा ८३ ठाउँमा ‘सुझाव तथा गुनासो पेटिका’ राखिएको छ । 

‘प्रहरी कार्य सम्बन्धी सुझाव तथा गुनासो पेटिका’मा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गर्ने काम कारबाहीको विषयमा व्यक्तिगत तथा संस्थागत गुनासो, सल्लाह र सुझाव समेत दिन सकिने छ । 

गुनासो पेटिका मार्फत आउने गुनासो, सल्लाह र सुझावले प्रहरीलार्ई कार्यसम्पादनमा सहयोग पुर्‍याउने डिएसपी गौतमको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button