तपाईँ सुन्दै हुनुहुन्छः

रुख कटानमा ढिलाइ हुँदा कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् आयोजना प्रभावित

सुर्खेत । रुख कटानमा ढिलाइ हुँदा कोहलपुर–सुर्खेत १ सय ३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रुख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाइ गर्दा निर्माणको कामले गति लिन नसकेको हो । 

आयोजना कार्यालयले गत जेठमा पठाएको रुख कटान सम्बन्धी प्रस्ताव करिब ७ महिनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुङ्गो लगाइसकिएको बताउनुभयो । उहाँले रुख कटानमा ढिलाइ नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने जनाउनु भयो । 

‘मन्त्रालयमा फाइल अड्किरहेको छ,’ उहाँले भन्नु भयो, ‘मन्त्रालयबाट रुख कटानका लागि स्वीकृत नआएसम्म अरू काम अगाडि बढाउन सकिँदैन ।’ उहाँले सङ्घीय मन्त्रिपरिषद्को बैठकले रुख कटानका लागि स्वीकृति दिएपछि मात्रै रुख काट्नका लागि बोलपत्र आव्हान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरु हुने बताउनु भयो । उहाँका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ वटा रुख काट्न कार्यालयले अनुमति मागेको छ । 

यद्यपि, आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा डबल सर्किटका १ सय ६० टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले जानकारी दिनु भयो । तीमध्ये १ सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ । 

सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्र भित्रका रुख कटान हुनेछन् । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । 

निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रुख कटानका लागि प्रक्रियामा ढिलाइ हुँदा काम नै प्रभावित भएको छ ।  

गत वर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि कम्पनीले करिब १४ महिनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो । १ सय ३२ केभी विद्युत् प्रसारण लाइन बिस्तारमा ढिलाइ हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा बिस्तार गरिएको भएपनि त्यो अपर्याप्त छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button