तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो बालविवाह मुक्त बन्दै सिञ्जाको चुलेलगाउँ

जुम्ला । सिञ्जा गाउँपालिका–२ स्थित चुलेलगाउँमा ३ वर्ष पहिलेसम्म बाल विवाहको बिगबिगी थियो । बाल विवाह भइरहेपनि रोक्ने बलियो संयन्त्र नै थिएन, नागरिकहरूमा चेतना थिएन । किशोर किशोरी पनि सचेत थिएनन् । जसका कारण चुलेलगाउँमा महिनामा ४/६ वटा बालविवाह हुन्थ्यो । धेरै किशोर किशोरीहरू सानै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, शिक्षाको अवसरबाट वञ्चित हुने र प्रजनन स्वास्थ्यका समस्या भोग्न बाध्य थिए । 

तर अहिले चुलेलगाउँ भने, बालविवाह मुक्त अभियानमा जुटेको छ । चुलेलगाउँको छुई प्रथा तथा बालविवाह निगरानी समितिले जिल्लाकै उदाहरणका रूपमा हुनै लागेका करिब ४ वटा बाल विवाह समेत रोकेका थिए । जसले गर्दा चुलेलगाउँमा हाल बालविवाह शून्यमा झरेको छ । 

घटना १

सिञ्जा गाउँपालिका २ की रुपमती वड (नाम परिवर्तित) २०७७ वैशाख महिनामा हिमा गाउँपालिका ४ चिउडी गाउँमा २० वर्ष नपुग्दै पोईला गइन् । तर चुलेल गाउँको बालविवाह तथा छाउपडी निगरानी समितिको टिमले वडलाई सम्झाएर फर्कायो । केटा केटीलाई राम्रो सँग पढ्न र २० वर्ष पुगेपछि विवाह गरिदिने सर्तमा वडलाई माइतीमा ल्याए  ।

घटना २

हिमा गाउँपालिका ४ चिउडीकी पानसरी तिरुवा (परिवर्तित नाम) २०७७ असोज  महिनामा सिञ्जा–२ चुलेलगाउँमै २० वर्ष नपुग्दै भागेर विवाह गर्न आइन् । विवाह गर्ने ठुलै तयारी भएको थियो । तर निगरानी समितिले पोइली र माइती पक्षलाई राखी बालविवाहका कानूनी कुरा, प्रजनन स्वास्थ्यमा पर्ने असर र शैक्षिक अवसरमा पर्ने असरका बारेमा सम्झाएर तिरुवालाई पनि माइतीमै पठाइयो । 

घटना ३

त्यही असोज महिनामा कनकासुन्दरी गाउँपालिका ७ की बेलमती कामी (परिवर्तित नाम) उनी चुलेलगाउँमा २० वर्ष नपुग्दै विवाह गर्न आइन् । यता चुलेलगाउँमा बालविवाह न्यूनीकरण अभियान चलेको थियो । निगरानी समितिले बेलमतीका माइती पाइली राखेर परामर्श गरे पनि त्यो विवाह पनि बदर भयो । 

घटना ४

चुलेलगाउँका भेष बहादुर भरिकाले बुबा आमाको दबाबमा बाल विवाह गर्न लागेका थिए । घरमा विवाह तयारी भएर केटी ल्याउने अन्तिम तयारी थियो । तर भेष बहादुरकी भाउजू निगरानी समितिकी सदस्य समेत रहेकी केशपुरा भरिकाले त्यो बालविवाह रोक्न प्रयास गरिन् । दैनिक घरमा सासु ससुरा,देवर केटीलाई बालविवाहका कानूनी सजाय, शिक्षा, स्वास्थ्य मानसिकतामा पर्ने असरका बारेमा बुझाएपछि देवरको बालविवाह रोक्न भाउजू केशपुरा सफल भइन् । 

यसरी हुनै लागेका बालविवाह रोक्ने कर्णालीकै पहिलो गाउँ हो जुम्लाको चुलेलगाउँ । करिब ९० घरधुरी रहेको चुलेलगाउँमा ५४ घरधुरी दलित मात्रै छन् । तथ्याङ्क हेर्दा बालविवाह गर्ने दलित बढी थिए । तर अहिले चुलेलगाउँका दलित क्षेत्री ब्राहमन सबै ९० घरधुरी नै बालविवाह मुक्त गाउँ बनाउन सफल भएका छन् । 

बालविवाह मुक्त अभियानका अभियान्ता गोविन्द उपाध्यायले गत वर्ष नै बालविवाह मुक्त गाउँ घोषणा गर्ने भनिए पनि कोरोनाले ढिलाइ भएको बताउनुभयो । उनले भने,“दुई वर्ष पहिले बाल विवाह गर्न लागेका किशोर किशोरी आजभोलि निकै खुसी छन् । तीमध्ये कोही एचए, स्टाफ नर्स लगायत प्राविधिक विषय पढिरहेका छन् । त्यति बेला विवाह नगरेर राम्रो गरेको बताउँछन् । उनीहरूकै विवाह रोकेका कारण त्यसपछि चुलेलगाउँमा बाल विवाह हुनै छाडेको छ ।”

हिजो बाल विवाह गर्न तम्सिने भेष बहादुर भेरिका अहिले निगरानी समितिमा लागेर बालविवाह मुक्त चुलेलगाउँ घोषणाको अभियानमा जुटेका छन् । निगरानी समितिले हप्तै पिच्छे गाउँमा बालविवाहका कानूनी पक्ष, दुवैको पढाई अवरोध हुने, रोजगारी नहुने, पाठेघर खस्ने लगायत विभिन्न कुरा सम्झाउने गरिएको स्थानीय महिला मनिषा आचार्य बताउँछन् । सिञ्जाको चुलेलगाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गर्ने तयारीमा निगरानी समिति जुटिरहेको छ । 

गाउँ नै बाल विवाहको बहिष्कारमा जुटेको छ । गाउँपालिकाले बालविवाहको ठोस नीति नबनाए पनि बालविवाह मुक्त चुलेलगाउँ अभियानमा सकारात्मक सहयोग मिलेको छ । निगरानी समितिका अध्यक्ष गगन बहादुर तिरुवाले भन्नुभयो, “हामीलाई क्याड नेपाल संस्थाले बाल विवाह रोक्न, गाउँमा जागरण फैलाउन ठुलो साहस थियो । बेला बेला दिने तालिमले गाउँमा परामर्श गर्न सहज पनि भयो । यति छिटै चुलेलगाउँमा बालविवाह शून्य होला भन्ने कल्पना थिएन । तर सबैको साझा प्रयासले बालविवाह शून्यमा झार्न सफल भयौ ।”

उहाँका अनुसार नागरिकता र जन्म दर्ता हेरेर मात्र पण्डित, पुरोहितलाई विवाह गराउन निगरानी समितिले निर्देशन दिएको छ । अन्यथा पुरोहित, लमी, दुला दुलहीका आफन्तलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको उहाँको भनाई छ । 

यता गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार सिञ्जा क्षेत्रकै नमुना गाउँका रूपमा चुलेलगाउँलाई लिइएको छ । चुलेल गाउँले चालेका सामाजिक कुरीति विरुद्धको अभियानले सबैलाई प्रेरणा दिएको, सामाजिक एकता बढ्दै गएकोले चुलेल गाउँलाई नमुना गाउँका रूपमा विकास गरिने अध्यक्षको भनाई छ । अहिले पनि कर्णालीमा ५२ प्रतिशत र जुम्लामा ६७ प्रतिशत बालविवाह कायम छ । 

याड नेपालले सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरीमा २०१८ देखि बाल विवाह, बहुविवाह, महिला हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको फिल्ड अधिकृत जयलक्ष्मी चौलागाईले बताउनुभयो । उहाँका अनुसार बालविवाह न्यूनीकरणको ठोस नीति निर्माणका लागि आगामी पुष ४ गते बृहत् कार्यक्रम गरिँदै छ । 

८ सय ६० किशोरी उमेर नपुग्दै आमा

चुलेलगाउँ बालविवाह मुक्त हुने तयारीमा भएपनि जुम्ला भरीको पछिल्लो तथ्याङ्क भने डर लाग्दो छ । चुलेलगाउँ जस्तै जागरण जुम्लाका ६० वटै वडामा फैलाउन जरुरी छ । भने ठोस नीति निर्माण र कानुन कार्यान्वयनमा कडाइ गर्न आवश्यक छ । तथ्याङ्क अनुसार जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । 

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आव २०७७/७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका छन्  । शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण दुरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अवसरबाट वञ्चित हुनुपर्नेमा बाध्यता कायमै रहेको छ ।

जसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिका १ सय ९० जना किशोरीले २० वर्ष नपुगी बच्चा जन्माएका छन् । जुम्लाको शिक्षित बस्ने,चेतनाको विकास भएको मानिने चन्दननाथको अवस्था यस्तो छ । भने अन्य सात पालिका जहाँ अझै शिक्षा स्वास्थ्यको पर्याप्त पहुँच पुगेको छैन । 

गत आवमा तातोपानीका ६६, पातारासीका १ सय ३४, कनकासुन्दरीका ९०, सिँजाका ६८, गुठीचौरका ९५, तिलाका १ सय ४० र हिमा गाउँपालिकाका ७७ जना गरी जम्मा ८ सय ६० जना किशोरी २० वर्ष नपुगी आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । 

त्यस्तै, गत आवमा १ सय ८० जनाले निकै कम तौल भएको बच्चा जन्मेका छन् । भने, २० वर्ष माथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिने लगायतका सबैको मुख्य कारण भनेकै बालविवाह हो । यसलाई रोक्न जुम्लाका आठै स्थानीय तह,गैरसरकारी निकाय, अभियान्ता, महिला समूह सशक्त रूपमा एकता बद्ध भएर अघि बढ्नु पर्ने देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button