खैरेनीटार–भिमाद सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने

तनहुँ । खैरेनीटार–भिमाद खैरेनीटार सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
सडक स्तरोन्नतिको काम भइरहेकाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
सडक स्तरोन्नतिको क्रममा दोभानमा चौडा पार्नु पर्ने भएकाले सम्भावित दुर्घटना हुन नदिनलाई सडक बन्द गर्नुपरेको कार्यालयका निमित्त प्रमुख कल्याण खड्काले बताउनुभयो ।
“सडक चौडा पार्ने काम नसकिन्जेल सडक नियमित बन्द हुनेछ”, उहाँले भन्नुभयो । आवश्यकता अनुसार एक घण्टा सडक बन्द हुने र आधा घण्टा सडक खोलिने खड्काले जानकारी दिनुभयो ।
कार्यालयले शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकालाई समन्वय गर्न अनुरोध समेत गरेको छ ।खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडक स्तरोन्नतिका लागि एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले ठेक्का पाएर काम गरिरहेको छ । हाल सडक चौडा पार्ने र नाली बनाउने काम निर्माण कम्पनीले गरिरहेको छ ।
सात करोड ४५ लाख २१ हजार रुपैयाँमा ठेक्का लगाइएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ ।
गत वैशाख १३ गते ठेक्का सम्झौता भएकोमा २०७९ कार्तिक १३ गते सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्