तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर प्रदेश समन्वय बैठक हेटौँडामा सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार (आज) बाट अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । 

बागमती प्रदेश सरकारको आयोजनामा पहिलो पटक प्रदेशहरूका असल अभ्यास, सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणादायी कार्य र समस्या तथा चुनौतीहरूका बारेमा विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विभिन्न प्रदेश सरकारका अन्तर सम्बन्धलाई गाढा राख्न एक आपसमा सहकार्य, अन्तर संवाद र कार्यशैलीका साथै समस्या चुनौतीहरूको विषयमा छलफल गरी बैठक पश्चात् एउटा घोषणा पत्र जारी गर्दै सङ्घीयतालाई कार्यान्वयन गर्न थप सहजता मिल्ने बताउनुभयो । 

उहाँले अन्तर प्रदेशको बैठक समय–समयमा बसे देशको आर्थिक पक्ष सुधारका साथै सामाजिक, औद्योगिक पक्ष र कर्मचारीका काम गर्ने शैलीमा पनि परिवर्तन हुने बताउनुभयो । 

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले प्रशासकहरू विकासका संवाहक भएको बताउनुभयो । उहाँले देशमा सुशासन कायम गर्न कर्मचारीहरूलाई  प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न साथै काम गर्ने शैली, विचार र प्रविधिमैत्री भई गम्भीर रुपमा काम सम्पादन गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका सचिव यमलाल भुसालले तीन दिन हुने अन्तर प्रदेश बैठकमा प्रदेशको सुशासन प्रणाली, प्रदेश अन्तरगतका सेवा प्रवाह, विपद् व्यवस्थापन, कर्मचारी समायोजन, शासकीय प्रवर्द्धन, स्थानीय तहसँगको सम्बन्ध लगायतका विषयमा छलफल गरिने बताउनुभयो । 

बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल, सातै प्रदेशका प्रमुख सचिवहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button