१९ लाख भन्दा बढी मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो
काठमाडौँ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा आज थप १९ लाख भन्दा बढी मात्रा मोडर्ना खोप आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज १९ लाख ६५ हजार ८ सय मात्रा खोप आएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइपुगेको थापाले जानकारी दिनुभयो ।
सरकारले मोडर्ना खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका २४ विशेषज्ञ अस्पतालहरूबाट दीर्घ रोगीलाई फाइजर खोप दिइसकेको छ भने सोही समयमा बाकी रहेको खोप स्वस्थ किशोर किशोरीलाई पनि फाइजर खोप दिइएको थियो ।
सरकारले तीन महिना पूरा भएका गर्भवतीहरूलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।
नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्