तपाईँ सुन्दै हुनुहुन्छः

एक सभापति र एक सह महामन्त्रीसहित ५८ जना केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत एक सभापति र एक सह महामन्त्री सहित ५८ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सभापतिमा एक र सह–महामन्त्रीमा एक जनासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले आफ्नो नाम फिर्ता लिनुभएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिनुभयो

सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएका गोरखाका युवराज न्यौपानेले र सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समिति सदस्य पोखरेलले जानकारी दिनुभयो ।

योसँगै  अब सभापतिमा  शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जानको बीचमा प्रतिस्पर्धा हुने भएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४ सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । 

उम्मेदवारको नामावली रुजु गर्ने काम चलिरहेको र केही बेरमा अन्तिम नामावली प्रकाशन हुने पनि निर्वाचन समिति सदस्य पोखरेलले जानकारी दिनुभयो । 

निर्वाचन समितिका अनुसार भोलि बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button