तपाईँ सुन्दै हुनुहुन्छः

बजारमा माग बढेसँगै कोदो खेती गर्दै किसान

सल्यान । चामलको भात खाने प्रचलन बढेसँगै कोदोको खेती न्यून हुन थालेको थियो । पछिल्लो समय लोप हुँदै गएको कोदो पछिल्लो समयमा भने माग बढ्दै जान थालेको छ । 

पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि किसानहरूले पनि राम्रो मूल्य पाउन थालेका छन् । कोदोको परिकार प्रति बजारवासी र पर्यटकको आकर्षण बढ्न थालेपछि किसानहरू पनि कोदो खेतीलाई बढाउन थालेका छन् । 

पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ । विशेष गरी बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ । बिस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले महत्त्वका साथ यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । 

आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा १ हजार १ सय २० मेट्रिक टन उत्पादन भएको थियो । गत आर्थिक वर्ष  २०७७/०७८ मा ६ सय ७८ हेक्टरमा कोदो खेती गरिएको थियो । जसबाट १ हजार २ सय २७ मेट्रिक टन कोदो उत्पादन भएको बस्नेतले बताए । 

कोदोको माग स्थानीय स्तरमा भन्दा जिल्ला बाहिर बढी हुने गरेको कार्यालयले जनाएको छ । बढी मात्रामा पोखरा, काठमाडौँ, दाङ सुर्खेत लगायतका जिल्लामा हुने गरेको बस्नेतले बताए । गत आर्थिक वर्ष मात्र सल्यानबाट ४५ मेट्रिक टन कोदो जिल्ला बाहिर निकासी भएको उनको भनाई छ । जसबाट किसानले  १२ लाख बढी  आम्दानी गरेका छन् । 

खाद्य संस्कृतिमा चामलले व्यापकता पाइरहँदा र अन्य खाद्यान्न बालीलाई हेला गर्ने बानीको विकास हुँदा कोदो लगायतका अन्य खाद्यान्न बाली कम लगाउने गरेको बनगाड कुपिण्डे नगरपालिका–९ शेराका सेते बुढाले बताए । एक रोपनीमा कोदो खेती गर्दै आइरहेको बताउँदै उनले बजारमा बिक्री हुने नहुने बारेमा आफूलाई भने थाहा नभएको बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button