तपाईँ सुन्दै हुनुहुन्छः

एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 

त्यस्तै, सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२:३० बजेसम्म निर्धारण गरिएको थियो । 

अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ ।  

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४ सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । 

नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ । 

यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button