महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् ।
यही मङ्सिर २४ गतदेखि काठमाडौँमा काँग्रेसको महाधिवेशन सुरु भएको छ ।
काँग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ ।
सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन् ।
आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन् । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ ।
महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन् ।
सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटा बाटामा प्रचार सामग्री देख्न सकिन्छ । कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खाने बस्ने प्रबन्ध मिलाएका छन् ।
लामो समय कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवेशनका कारण थोरै भए पनि राहत महसुस गरेका छन् ।
एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले काठमाडौँका तारे होटलदेखि पर्यटक स्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिनुभयो ।
कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवेशन पनि हुन थालेपछि खुसी देखिएका छन् । सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् । अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताउनुभयो ।
सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । “सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद पक्ष हो”, उपाध्यक्ष उप्रेतीले भन्नुभयो, “सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन् ।”
महाधिवेशनका कारण पर्यटन व्यवसायी उत्साहितलामो समय नेपालको पर्यटन क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बन्यो । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘भ्रमण वर्ष २०२०’ को सुरुआतमै कोरोना महामारीले उग्र रूप लिएको थियो । कोरोनाका कारण आन्तरिक पर्यटकीय गतिविधि पनि ठप्प भएको थियो ।
कोरोनाको सङ्क्रमण केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेको छ । पछिल्लो समय विदेशी पर्यटकको आवागमनसमेत बढेको छ । आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ ।
राजनीतिक दलका गतिविधिले पनि नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले मङ्सिर दोस्रो साता चितवनको सौराहामा १०औँ महाधिवेशन सम्पन्न ग¥यो । एमालेको महाधिवेशनले मध्य नेपाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीको मत छ ।
विदेशी पाहुनासमेत सहभागी महाधिवेशनका क्रममा विभिन्न जातजाति, भाषा भाषीका तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले पनि नेपालको कला, संस्कृतिको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह पर्यटन व्यवसायीको भनाइ छ ।
काँग्रेसको महाधिवेशनले पनि काठमाडौँको पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग गरेको सङ्घका उपाध्यक्ष उप्रेतीको भनाइ छ । यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौँमा महाधिवेशनको आयोजना गर्यो ।
यस्तै पुसको दोस्रो साता नेकपा ९माओवादी केन्द्र०ले काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्