लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
वीरगन्ज । वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, माइती नेपाल, आफन्त नेपाल, दलित महिला सङ्घ, नारायणी अस्पताल, सानो पाइला, महिला सहकारी संस्था लगायतका विभिन्न सामाजिक सङ्घसंस्थाको संयुक्त पहलमा वीर गन्जमा र्याली, सडक नाटक लगायतका कार्यक्रमको आयोजना गरिएको वीरगन्ज महानगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख रञ्जना पण्डितले बताउनुभयो ।
अभियानको अन्तिम दिन आज वीरगन्ज महानगरपालिकाको सभाकक्षमा दाइजो प्रथा, बोक्सी प्रथा, बालविवाहको कानुनी व्यवस्थाको बारेमा सङ्घसंस्थाहरू बिच अन्तरक्रिया गरिएको पण्डितले बताउनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता प्रेम कुमार साहले महिला हिंसा र कानुनी प्रावधानका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा महिला तथा बालबालिकाको हकमा काम गर्ने विभिन्न सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्