नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
मङ्सिर २७ गतेसम्म चल्ने महाधिवेशनको आज एक समारोहका बीच प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सबै शीर्ष नेताहरू, पूर्व प्रधानमन्त्रीहरू तथा विभिन्न दलका प्रमुख नेता एवं विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ ।
महाधिवेशनको उद्घाटन सत्र अहिले काठमाडौँको भृकुटीमण्डपमा जारी रहेको छ ।
महाधिवेशन स्थलमा सहभागीको सुविधाका लागि मञ्च बाहिर ठुला पाँच वटा डिस्प्ले राखिएको छ भने वक्ताहरूको आवाज चारैतिर सुनिने बनाउन ठुला साउण्ड सिस्टमहरू राखिएको छ ।
महाधिवेशन स्थल पार्टीका झन्डा र चुनाव चिह्न रुख अङ्कित झन्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट चार हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेको नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिनुभयो ।
महाधिवेशन अन्तर्गत आज उद्घाटन सत्रका साथै महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशनको कार्यक्रम निर्धारण गरिएको छ भने भोलि मङ्सिर २५ गते उम्मेदवारी दर्ता तथा उम्मेदवारी विरुद्धको दाबी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ ।
यस्तै, मङ्सिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्