तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशनको आजदेखि,यस्तो छ काँग्रेस महाधिवेशनको इतिहास

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।

उद्घाटन समारोहमा काँग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ । कोभिड-१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उहाँले बताउनुभयो ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठुला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठुला साउण्ड सिष्टम राखिएको छ ।

महाधिवेशन स्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । यसै गरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका र उनीहरूका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहित झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकेको पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि राजधानीका विभिन्न होटेलमा व्यवस्था गरिएको छ । यसै गरी बन्द सत्र हुने भृकुटीमण्डपको हलमा पनि ठुलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारी साधनको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ ।

मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेकट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

यस्तो छ काँग्रेस महाधिवेशनको इतिहास

काँग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति हुनुभएको थियो । काँग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित हुनुभएको थियो ।

यसै गरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति हुनुभएको थियो । भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बन्नुभएको थियो ।

काँग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित हुनुभएको काँग्रेसको इतिहास छ । वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटाँै महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति हुनुभएको थियो भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति हुनुभएको थियो ।

विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित हुनुभएको थियो । यसै गरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीन पटक सभापति हुनुभएको थियो ।

काँग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित हुनुभएको थियो भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button